काठमाडौं – नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने दाबी गर्नुभएको छ । पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन पछिका केन्द्रीय कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा एमालेका महासचिव पोखरेलले वर्तमान सत्ता गठनबन्धनका माध्यमबाट जनताको विकास र समृद्धिको नेतृत्व सम्भव नहुने जिकिर गर्नुभयो । एमालेमा एकता र प्रवेशको अभियान सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गराउने क्रममा एमाले नेतृत्वको अघिल्लो सरकारले उल्लेखनीय काम गरेको उहाँको दाबी थियो । महाधिवेशनपछि अध्यक्ष केपी ओलीले बिहीबार पहिलो पटक अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेका थिए । महाधिवेशनबाट निर्वाचित ३०१ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठक मङ्सिर १४ गते सौराहामा र दोस्रो बैठक मङ्सिर २५ र २६ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको थियो ।

दोस्रो बैठकले ४४ जनालाई मनोनयन गरेको थियो । अपानिमा तीन बैठकमा निर्णय समावेश गरिएको छ । दोस्रो बैठकले केन्द्रीय कमिटीमा मनोनयन, नेताहरुको कार्यविभाजन, पार्टी प्रवेश र महाधिवेशनको सन्देश प्रवाहका लागि योजना निर्माण, जनसङ्गठनको सुदृढीकरणलगायतका विषयमा निर्णय गरेको थियो ।