काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई तत्काल आवश्यक सुरक्षाको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपालले आज काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले भन्नुभयो, ’म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरूलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैर सरकारी संस्थाहरूलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरूको माग अनुसार पूरा गर्नुहोस् ।’

गृहमन्त्री खाँणले सम्बन्धित कुनै पनि संस्थाहरूमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको बताउनुभयो । खाँणले भन्नुभयो, ‘सरकारले हस्तक्षेपकारी भूमिका होइन, नियन्त्रणकारी भूमिका होइन । गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरूका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ ।’

गृहमन्त्री खाँणले गैरसरकारी संस्थाहरूले कोरोना सङ्कट, बाढी, पहिरोलगायतका प्राकृतिक विपद्मा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा व्यक्त गर्नुभयो । उहाँले गैर सरकारी संस्थाहरूको मागअनुसार कानुन परिमार्जनको काम अघि बढाउन सरकार तयार रहेको जिकिर गर्नुभएको छ ।