फाइल तस्वीर ।
काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तगर्तको पदाधिकारी तथा केन्द्रीय सदस्यको लागि भएको निर्वाचानको परिणाम आउन बाँकी रहेका सहमहामन्त्री पदको मतगणना आज पनि हुँदैछ । नेपाली काङ्ग्रेसमा क्लस्टर अनुसार सहमहामन्त्रीको आठ पदमध्ये तीन वटाको क्लस्टरको नतिजा हिजै आएसकेको हुँदा आज शुक्रबार बाँकी पाँच सहमहामन्त्रीको लागि मतगणना हुन लागेको हो ।

कांग्रेसमा आठ सहमहामन्त्री पद छन् । महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरीणाम बिहीबार घोषणा भएको थियो । जसमा आदिवासी जनजाती सहमहामन्त्रीमा भिष्मराज आङदम्बे महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ र दलित सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् ।

आज मतगणता हुने पाँच सहमहामन्त्री पदका लागि खसआर्य, मधेसी, थारु, मुस्लिम र पिछडिएको क्षेत्र क्लस्टर अनुसार छन् । यी सबैको नतिजा आजसम्ममा निर्वाचनको नतिजा आउने निर्वाचन समितिले जनाएको छ । खसआर्य समूहमा शेरबहादुर देउवा प्यानलबाट किशोरसिंह राठोर र शेखर कोइराला प्यानलबाट देवराज चालिसे उम्मेदवार छन् ।

मधेसी क्लष्टरबाट सहमहामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट महेन्द्र यादव, शेखर कोइराला प्यानलबाट रामकृष्ण यादव र विमलेन्द्र निधि प्यानलका रामकृष्ण यादव उम्मेदवार छन् । थारु क्लष्टरबाट देउवा समूहका उमाकान्त चौधरी र कोइराला समूहका तेजुलाल चौधरी तथा मुस्लिम क्लस्टरबाट देउवा प्यानलका फरमुल्लाह मन्सुर र कोइराला प्यानलका शेख वकिल प्रतिस्पर्धामा छन् ।

यसैगरी पिछडिएको क्षेत्र कलष्टरबाट सहमहामन्त्री पदमा देउवा समूहका जीवनबहादुर शाही, कोइराला समूहका बद्री पाण्डे र निधि समूहका चेतराज बराल उम्मेदवार छन् । पार्टी सभापतिको बाहेक अन्य पदाधिकारी र सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा भैरहेको छ । अहिलेसम्म एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र तीन क्लस्टरका सहमहामन्त्रीको नतिजा सार्वजनिक भैसकेको छ ।