काठमाडौं – नेकपा (एमाले)ले अन्तरपार्टी निर्देशिका जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले अन्तर पार्टी निर्देशन–१ (अपानि) जारी जानकारी दिँदै केन्द्रीय पदाधिकारी तथा सदस्यहरु र प्रदेश तथा जिल्ला कमिटीले पठाइएको जानकारी गराउनुभएको छ ।

अपानिमा विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्जहरु पनि तोकेको छ । जस अनुसार अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्वको जिम्मेबारी रहेको छ भने बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखको जिम्मेबारी तोकिएको छ।उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने , उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मेबारी तोकिएको छ ।

यसै गरी उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमन गर्ने, उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षा बिभागको जिम्मा पाउनु भएको छ । महासचिव शंकर पोखरेलले सांगठनिक कामको संयोजन गर्ने ,उपमहासचिवहरु प्रदीप ज्ञवालीले स्कुल विभाग , पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग ,उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापनको जिम्मेवारी तोकिएको छ ।

यसै गरी सचिव टोपबहादुर रायमाझीलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग , गोकर्ण विष्टलाई ऊर्जा, योगेश भट्टराईलाई स्वास्थ्य विभाग र सचिव लेखराज भट्टराई सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी तोकिएको छ ।