काठमाडौ– नेपाली काङ्ग्रेसको महामन्त्री पदको उम्मेदार तथा नेपाल सरकारका रक्षामन्त्री डा.मीनेन्द्र रिजालले सोसल मिडियामा ट्वीट गर्दै रक्षामन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदको प्रत्याशी बनेका डा. रिजालले मतगणनाको नतिजालाई दृष्टिगत गर्दै पराजयको सङ्घारमा पुगेको हुँदा रक्षामन्त्रीबाट राजनीनिमा दिन लागेका हुन् ।

मन्त्री रिजालले आफ्नो ट्वीटरमा ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु । अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’ भनि सार्वजनिक गरेका छन् ।

अहिले पार्टीको महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार २१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १३८५ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ८५१ मत ल्याएका छन् भने प्रदिप पौडेलले ६२१ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ६९८ र मीनेन्द्र रिजालले ३६५ मत पाएका छन् । राजाराम कार्कीले ५९ मत ल्याएका छन् । महामन्त्री पदमा लडेका छ जनामध्ये रक्षामन्त्री समेत रहेका डा. रिजाल पाँचौं नम्बरमा छन् । महामन्त्रीको अन्तिम नतिजा सम्भवत चार बजेसम्ममा आइपुग्ने निर्वाचन समितिले जनाएको छ ।