लण्डन – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को निर्वाचन तेस्रो पटक पनि स्थगित भएको छ । महाधिवेशन प्रतिनिधिको विवाद समाधान नगरी गर्न खोजिएको निर्वाचनमा उम्मेदवार नै सहभागी नहुने अवस्था आएपछि निर्वाचन कार्यतालिका स्थगित गरिएको हो । विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरिएको छ । यसअघि अक्टोबर र नोभेम्बरमा पनि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली निर्वाचन समितिलाई उपलब्ध गराउन नसक्दा निर्वाचन स्थगित भएको थियो ।

गत जुलाईमा भएको एनसिसी चुनावमा विभिन्न देशमा प्रविधिको दुरुपयोग गरिएको र प्रतिनिधि चयन पनि प्रजातान्त्रिक पद्धतिअनुसार नगरिएको भन्दै उजुरी परेता पनि समाधान हुन सकेको छैन । प्रतिनिधि चयन विधानअनुसार नभएको भनी परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि सरकारले विधानअनुसार प्रतिनिधि चयन गरेर निर्वाचन गर्न निर्देशन दिएको थियो । निर्देशनविरुद्ध सङ्घका अध्यक्ष कुमार पन्त अदालत गएका थिए । उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । दुईतिहाइ एनसीसीले विवाद समाधानको माग गर्दै आएका छन्। उनीहरुले केन्द्रलाई बुझाउनुपर्ने सदस्यता शुल्क पनि बुझाएका छैनन् ।

निर्वाचन समितिले आह्वान गरेको फेस रिडिङ प्रक्रियामा पनि सदस्य सहभागी नभएको र शुक्रबार आह्वान गरिएको मनोनयनमा कुल आचार्य समूह सहभागी नहुने भएपछि निर्वाचन प्रक्रिया स्थगित गर्नु परेको हो । निर्वाचन गर्ने प्रक्रिया पूरा नभएको भन्दै अध्यक्ष पन्तले विवाद समाधानका लागि चार सदस्यीय समिति गठन गरेका छन् ।