काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति नभएको स्पष्ट पार्नुभएको छ । उहाँले उक्त आरोप शतप्रतिशत झुटो भएको बताउँदै प्रेस वक्तव्य जारी गरी ओलीलाई उक्त आरोप पुष्टि गर्न चुनौती समेत दिनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले राजासँग पाँच बुँदे सहमति भएको भन्ने ओलीको आरोप शत प्रतिशत झुटो प्रचार भएको बताउनुभएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले हिजो बुधबारको एक कार्यक्रममा प्रचण्ड र ज्ञानेन्द्रबीच भारतमा पाँच बुँदे सहमति भएको र दुईजना बीचको साँठगाँठमा उपद्रव मच्चाइएको अभिव्यक्ति दिनुभएको थियो । त्यसै कुरालाई स्पष्ट पार्दै आज बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले उक्त सहमति भएको कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके माफी माग्न ओलीलाई चुनौती दिनुभएको छ ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शतप्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

जारी विज्ञप्तिमा, दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी. शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुनः प्रमाणित गरेका छन् । पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् । म के. पी. ओलीलाई “पाँच बुँदे सहमति” प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु । साथै मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु । आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरूको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु, भनी लेखिएको छ ।