काठमाडौं – सत्तारुढ दल नेपाली काङग्रेसको १४ औं महाधिवेशन अन्तगर्त महामन्त्री पदको मतगणना आज केही समयपछि सुुरु गरिंदै छ । निर्वाचन समितिका अनुसार महामन्त्रीको मतगणना बिहानदेखि सुरु गर्ने तयारी भइरहेको छ ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा छ जना बीच प्रतिस्पर्धा छ । जसमध्ये डा.प्रकाशशरण महत र प्रदीप पौडेल प्रधानमन्त्री देउवाको समूहबाट, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा डा.शेखर कोइरालाको समूहबाट उम्मेदवार छन् भने प्रकाशमान सिंहको समूहबाट प्रवक्ता विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको समूहबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट सभापतिमा दोस्रो कार्यकालका लागि पुनः शेरबहादुर देउवा निर्वाचित भैसकेका छन् । यसैगरी उपसभापति पदमा नयाँ अनुहारका विजयी भएका छन् । काङ्ग्रेसको इतिहासमा पहिलोपटक भएको उपसभापति पदको निर्वाचनबाट उपसभापतिमा पूर्वबहादुर खड्का र धर्मराज गुरुङ विजयी भएका हुन् । निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार आज महामन्त्री पदको मतगणना सुरु गर्ने तयारी भइरहेको छ । महामन्त्रीका उम्मेदवारहरुका प्रतिनिधिहरु सबै आएपछि उहाँहरुको सहमति लिएर गणना सुरु गर्ने सचिव श्रेष्ठले जानकारी गराएका छन् ।

नेपाली काङ्ग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ । त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्य निर्वाचनबाट चुनिने छन् । यी बाहेक पार्टी सभापतिले केन्द्रीय समितिमा ३३ जना मनोनित गर्नेछन् ।