काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा बामपन्थी पार्टी लोकप्रिय रहेको र फुटेर जाँदा पनि बामपन्थी पार्टी नै निर्माण गरिरहेको बताउनुभएको छ । पार्टीको बागमती प्रदेश कमिटीले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उहाँले आफूहरू बामपन्थी आन्दोलन बलियो बनाउन लागिरहेकाले पार्टी फुट्यो भनेर चिन्ता नगर्न आग्रह गर्नुभयो ।

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सबै तहमा रहेर नेतृत्व गर्नेले देशको स्वाभिमान र जनतालाई सुखी बनाउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । देशभर सबै जिल्ला र क्षेत्रमा पार्टीको विस्तारमा लाग्न उहाँले निर्देशन दिंदै भन्नुभयो, “आमनागरिकलाई चेतनशील र सङ्गठित बनाएर मात्रै परिर्वतन सम्भव छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेपालले देशभरमा आफ्नो पार्टीमा नागरिकको आकर्षण बढिरहेको बताउनुभयो । सबै प्रदेशका र विभिन्न जिल्लामा पार्टी र सङ्गठन विस्तारका क्रममा रहेको र कतिपय जिल्लामा ठूलै परिवर्तन आइरहेको उहाँको भनाइ छ । वडा तहसम्म कमिटी बनाउन र पार्टीलाई गतिशील बनाउन उहाँले निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “अरु पार्टीभन्दा कसरी भिन्न पार्टी बनाउने भन्नेमा हाम्रो ध्यान पुग्नुपर्छ ।”

उहाँले राजधानी काठमाडौं र अरू विभिन्न शहरमा सडकको अवस्था खराब भएको उल्लेख गर्नुभयो । सरकारमा फरक–फरक पार्टीको संलग्नता भएकाले कतिपय विषयमा चुप भएर बस्नुपरेको उहाँको भनाइ छ । राजनीतिक क्रान्ति जोगाउन बामपन्थी र लोकतान्त्रिक शक्तिसँग मिलेर लागेको उहाँले बताउनुभयो । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले भन्नुभयो, “शेरबहादुर देउवा मात्रै होइन काङ्ग्रेसका अरू नेता पनि गठबन्धनलाई अघि बढाउनुपर्ने मान्यता राख्नुहुन्छ ।” रासस