काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताका संवाहक भएको बताएका छन् । आज बुधबार शपथ लिएका एमालेका मनोनित ४४ जना केन्द्रीय सदस्यहरूलाई सम्बोधन गर्दै ओलीले नेपालमा नियन्त्रित अस्थिरता चाहने तत्वहरूसँग माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको तार जोडिएको बताएका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने,‘नेपालमा अस्थिरता फैलाउने तत्वहरू को हुन् भन्ने हामीले चिन्नुपर्छ । तिनीहरू प्रचण्ड एन्ड कम्पनी र माकुने एन्ड कम्पनी हुन् । उनीहरूको स्विच अन÷अफ कहाँबाट हुन्छ भन्ने हामीले छर्लङ्ग देखेका छौं ।’ओलीले माओवादीले चलाएको सशस्त्र युद्ध परिवर्तनका लागि नभएर नेपालमा अस्थिरता सिर्जना गर्न अपनाइएको विधि भएको दाबी गरे ।

‘ठूला क्रान्तिका कुरा गरे । गाउँ–गाउँका युवा महिला ज्यान दिन तयार भए तर हतियार कहाँबाट आयो त्यतातिर हेर्न दिइएन,’ ओलीले भने,‘जनयुद्ध सफल हुनुका लागि थालिएको नै होइन । अस्थिरता सिर्जना गर्न अपनाइएको अस्त्र हो ।’ उनले नेपाली काङ्ग्रेसको पनि आलोचना गरे । काङ्ग्रेसकै कमजोरीका कारण २०१७ साल र २०६१ मा राजाले शासन लिएको ओलीको कथन थियो । उनले प्रचण्ड र नेपालको पार्टीसँग एकताको कुनै सम्भावना नरहेको बताएका छन् ।