धनगढी – कैलालीमा बस र जीप एकआपसमा ठोक्किदा २६ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्कीचुहा नगरपालिका–३ को गोराङ्गेमा काठमाण्डौँबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र. ००२–००१ ख १०८४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको से १ च १५९३ नम्बरको जीप एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दुर्घटनामा परेर जीपमा सवार चालकसहितका ३ जना र बसमा सवार २३ जना गरी २६ जना घाइते भएको जनाएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ भने लम्कीकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बसमा ३८ जना र जीपमा तीन जना गरेर ४१ जना सवार रहेका थिए । अन्य यात्रुहरु सकुशल रहेको बताइएको छ । दुर्घटनापछि केही बेर अवरुद्ध बनेको राजमार्ग अहिले सुचारु भइसकेको प्रहरीले जनाएको छ ।