काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । नेता पौडेलले एकताबद्ध काङ्ग्रेस निर्माण, लोकतन्त्रको रक्षा र सुशासन दिन ध्यान पुगोस् भन्दै देउवालाई बधाई दिनुभएको हो । लोकतन्त्र र संविधान खतरामुक्त नभएको तथा देशलाई अस्थिरतातर्फ धकेल्ने प्रपञ्च जारी रहेको बताउँदै पौडेलले यी खतराबाट पार लगाउन एकताबद्ध र सुदृढ काङ्ग्रेस आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

आफूहरू राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा रहेको उल्लेख गर्दै पौडेलले भन्नुभयो, ‘एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत् जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कोतिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् ।’

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पौडेल भन्नुहुन्छ, ‘यी दुवै सङ्कटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली काङ्ग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध काङ्ग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’