काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जामा आम जनताको पहुँच सुनिश्चित हुनु नागरिको अधिकार हो र ऊर्जाको प्रत्याभूत गर्नु राज्यको दायित्व भएको स्पष्ट पार्नुभएको छ । राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालद्वारा आज यहाँ आयोजित ‘नेपालमा लघुजलविद्युत् परियोजनाहको दिगो सञ्चालन’सम्बन्धी गोष्ठीको उद्घाटन गर्दै उहाँले नेपालको विद्युत् विकासमा रहेको जनसहभागिता विश्वमै उदाहरणीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले समुदायस्तरमा निर्माण गरिएका साना तथा लघुजलविद्युत् आयोजनाहरुको दिगो सञ्चालनका लागि तिनलाई केन्द्रीय प्रशारण लाइनमा आवद्ध गराउनुपर्ने र यसले समुदाय वा निजी क्षेत्रका लगानीकर्ताको आर्थिक स्तरमा वृद्धि ल्याउने हुँदा त्यसतर्फ लाग्न आग्रह गर्नुभएको छ । अब सम्भव भएसम्म देशका सबै स्थानमा केन्द्रीय प्रशारण पु¥याउने छौँ, तत्काल सम्भव नभएको अवस्थामा सौर्य ऊर्जा तथा लघु–जलविद्युत्जस्ता वैकल्पिक ऊर्जा प्रविधिमार्फत जनताको स्वच्छ ऊर्जाको अधिकारको सुनिश्चित गर्ने गरी सरकार अघि बढेको छ,– उहाँले भन्नुभयो ।

सो अवसरमा विद्युत् नियमन आयोगका सदस्य डा.रामप्रसाद धितालले देशभर केन्द्रीय प्रशारण लाइनको विस्तर भएसँगै विगतमा निर्माण गरिएका साना तथा लघु जलविद्युत् आयोजनाहरुको भविष्य अन्योलमा परेको अवस्थामा ती आयोजनाहरुबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रशारण लाइनमा जोड्नका लागि प्राविधिक मापदण्ड निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । रासस