हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री, नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका छन् । त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री बनेकी छन् ।

नवनियुक्त मन्त्रीहरुले आजै पद तथा गोपनीयताको शपथ लिनेछन् । आज मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली काङ्ग्रेसका सांसदहरु भने समेटिएका छैनन् । काङ्ग्रेस सांसदहरु पार्टीको महाधिवेशनमा व्यस्त भएकाले मन्त्रीको नाम टुङ्ग्याउन नसकेको नेताहरुले बताएका छन् ।