काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने हुनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो भएको भेटमा कोइरालाले देउवालाई समर्थन गर्ने बताउनुभएको हो ।

नेता डा.शशाङ्कको देउवालाई समर्थन गर्ने घोषणासँगै कोइराला परिवार विभाजित हुन पुगेको छ । संस्थापन इतर समूहमा सभापति पदका लागि सर्वसम्मत उम्मेदवार चयन हुन नसकेपछि पहिलो चरणको निर्वाचनअघि नै फुट आइसकेको छ । सो समूहबाट डा. शेखर कोइराला र प्रकाशमान सिंहले उम्मेदवारी दिनुभएको थियो ।

पहिलो चरणको निर्वाचनमा कसैले पनि बहुमत प्राप्त गर्न नसकेपछि सबैभन्दा धेरै मत ल्याउने देउवा र शेखरबीच आजै दोस्रो चरणको मतदान हुँदैछ । प्रकाशमान सिंहको प्यानलबाट उपसभापति पदमा कोइराला परिवारबाट पूर्व सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले उम्मेदवारी दिनुभएको छ । यसरी अहिले कोइराला परिवार तीनतिर तितरवितर भएको छ ।

पहिलो चरणको निर्वाचनमा तेस्रो र चौथो स्थान हासिल गर्ने सिंह र विमलेन्द्र निधिले यसअघि नै दोस्रो चरणको मतदानमा देउवालाई समर्थन गर्ने घोषणा गरिसक्नुभएको छ ।