काठमाडौं – लामो समयसम्म रोकिएको शिक्षक पदपूर्तिका लागि शिक्षक सेवा आयोगले चरणवद्ध रुपमा छिट्टै विभिन्न तहको विज्ञापन गर्ने गृहकार्य सुरु गरेको छ । आयोगको कार्यतालिका अनुसार भोलि माध्यमिक तहको विज्ञापन प्रकाशित गर्ने र त्यसपछि चरणबद्घ रुपमा निमावि तह र प्रावि तहको विज्ञापन खोलिने आयोगले जनाएको छ ।


सबै तहक पदहरुको विज्ञापन एकै पटक खोल्दा प्राविधिक समस्या आउन सक्ने भएकोले चरणवद्ध विज्ञापन खोल्ने तयारी गरिरहेको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बताउनु भयो । ‘हामी अनलाईन गर्ने भनेका छौं । सबै एकैचोटी गर्दा सिस्टममा समस्या आउन सक्ने भएकाले चरणबद्घ विज्ञापन गर्ने योजना बनाएका हौं’– अध्यक्ष रेग्मीले भन्नुभयो ।

आयोगका अनुसार प्राविधिक समस्या नआए शिक्षक सेवा आयोगले भोलि बुधबार माध्यमिक तहको खुलातर्फको विज्ञापन गर्दै छ । मङ्सिरभित्र विज्ञापन गर्ने कार्यतालिका बनाएको र सोही कार्यतालिका अनुसार नै जाने प्रयास भइरहेको आयोगले जनाएको छ । आयोगका अध्यक्ष रेग्मीका अनुसार ‘केही प्राविधिक समस्याका कारण ढिलाई भइरहेको हो तर हामी भोलि विज्ञापन खोल्न सकिन्छ भन्नेमा पुगेका छौं । अब प्राविधिक समस्या भएन भने खोल्छौं ।’

आयोगले पहिलो पटक माध्यमिक तहमा करिब एक हजार ५ सय ४२ दरबन्दी पदपूर्तिका लागि आवेदन माग गर्दैछ । त्यस्तैगरी निम्न माध्यमिक तहमा दुई हजार ५ सय ९३ पद र प्राथमिक तहमा १२ हजार ९ सय १२ रिक्त पदमा विज्ञापन खोल्ने तयारी गरेको छ ।