काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले आज मङ्गलबारदेखि सुरुभएको प्रतिनिधिसभा पहिलो बैठक नै नाराबाजी गर्दै अवरुद्ध गरेका छन् । प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले रोस्ट्रम घेरेर विभिन्न नारा लगाउँदै संसदको बैठक अवरुद्ध गरेका हुन् ।एमालेका सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘हाम्रो विरोध कायम छ’ भन्ने जस्ता नारा लगाउँदै रोस्ट्रम छेउ पुगेर विरोध गरेका छन् । बैठक सञ्चालनका लागि सघाउन सभामुख अग्निप्रसाद सापकोटाले अनुरोध गरे पनि सांसदहरुले ‘संसदीय मर्यादा कायम गर’ नारा लगाएका थिए । दोस्रो पटक एमालेको अध्यक्ष बनेपछि पूर्वप्रधानमन्त्री ओलीले केही दिन पहिले अधिवेशन चल्न नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए । एमालेको निरन्तर अवरोधका कारण अघिल्लो अधिवेशनमा पनि बैठक चल्न नदिए पछि सदनमा पेश गर्नुपर्ने विधेयकहरु अलपत्र परेका थिए ।

आज सुरुभएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमै एमाले सांसदको नाराबाजी गरेता पनि प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन् । गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुमार्फत् नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरिएको छ ।

त्यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गरेका छन् । एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरेका छन् । त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।

सभामुख सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए । एमालेले संसद बैठक अवरोध गरेपछि सभामुख सापकोटाले हिंउँदे अधिवेशनको अर्को बैठक आगामी पुस ६ गते मङ्गलबार १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका छन् ।