काठमाडौं – आजबाट सङ्घीय संसद्को अधिवेशन सुरु हुँदैछ । संसद बैठक चल्न नदिन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो रणनीति बनाइ रहेको बेला नेकपा माओवादी केन्द्रले संसदको गतिरोध हटाउन पहल गर्ने निर्णय गरेको छ । आजको बैठकमा सर्वाधिक विवादास्पद मानिएको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेश गर्ने विषयले सर्वत्र चासो बढाएको छ । यसैबीच एमसीसीका सन्दर्भमा नेकपा माओवादी केन्द्रले सर्वदलीय÷सर्वपक्षीय सहमतिपछि ठोस निर्णयमा पुग्ने बताएको छ । बैठकमा सांसदहरुले एमसीसीबारे राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले सर्वदलीय सर्वपक्षीय सहमतिपछि मात्रै अघि बढ्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठक सुरुहुनु अघि सिंहदरबारस्थित दलको कार्यालयमा माओवादीको संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले संसदको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गर्न पहल गर्ने निर्णय गरेको छ । बैठकले प्रचण्डकै नेतृत्वमा २१ सदस्यीय संसदीय बोर्ड समेत गठन गरेको छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अघिल्लो अधिवेशनको पूरै अवधि संसदको कामकारवाही अघिबढाउन नदिन अवरोध गर्दै आएको थियो । एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले आगामी संसद पनि चल्न नदिने चेतावती दिइसकेका छन् । आफूले कारबाही गरेका माधव नेपालसहितका १४ जना सांसदलाई पदबाट हटाइएको सूचना टाँस गर्नुपर्ने माग राखेर एमालेले संसदमा विरोध जनाउँदै आएको छ ।