काठमाडौं— नेकपा एमालेको सूर्य चिन्ह लिएर २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका सांसद हृदयेश त्रिपाठीले आज मङ्गलबार आफ्नो संयोजकत्वमा जनता प्रगतिशील पार्टी नामक नयाँ दलको घोषणा गरेका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका हुन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेता त्रिपाठीले जनता प्रगतिशील पार्टी नेपाल घोषणा गरेका हुन् ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका थिए । तात्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बनेका राजनीतिका चतुर खेलाडी त्रिपाठी कम्युनिस्ट राजनीतिको पृष्ठभूमिबाट उदाएका नेता हुन् । सद्भावना पार्टी हुँदै मधेसवादी पार्टीमा लागेका त्रिपाठीले अहिले जनता प्रगतिशील पार्टी घोषणा गरेका छन् ।