काठमाडौं – भोलिका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा ६ वटा अध्यादेशहरू पेस हुने भएको छ । आज संसद सचिवलायले भोलिको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम छ । त्यस्तै सभामुखले प्रतिनिधिसभा नियमावलीअनुसार अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ ।

भोलिको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, तेजा तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ पेस गर्ने कार्यक्रम छ । त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिलामन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश २०७८ पेश गर्नुहुनेछ ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडूले यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ तथा फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ पेस गर्ने कार्यक्रम रहेको छ ।