काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्न केही समय अघिबाट मतदान सुरु भएको छ पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । काङ्ग्रेस विधानअनुसार १६७ कार्यसमिति मध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

मतदानका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । महाधिवेशनस्थलको राष्ट्रियसभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ÷शुभेच्छुक सङ्घसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था तोकिएको छ । यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ । भृकुटीमण्डपको हलमा भने प्रदेश नं १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको निर्बाचन समितिले जनाएको छ ।

भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभा गृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । यस महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

सुरुमा सबै पद र क्लष्टरअनुसार विभिन्न २९ प्रकारका मतपत्र हुने भनिए पनि प्रदेश नं २ को (खुला) दुई सिटका उम्मेदवार (रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना) निर्विरोध भएकाले अब २८ प्रकारका मतपत्र हुने बताइएको छ । सबै मतपत्रका लागि अलग–अलग मतपेटिकाको व्यवस्था गरिएको छ ।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ । सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सभापतिबाहेक अन्य पदाधिकारी र सदस्य पदको मतदान समाप्त भएपछि उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको रोहवरमा मतपेटिका शिलबन्दी गरी पार्टी केन्द्रीय कार्यालयमा सुरक्षित राखिनेछ । सभापति पदबाहेक बाँकी पदाधिकारी र सदस्यको मतगणना केन्द्रीय कार्यालय सानेपामा हुनेछ । यसैगरी मतदानस्थल (भृकुटीमण्डप–राष्ट्रियसभा गृह)भित्र मोबाइल फोन लिएर जान नपाइने आचारसंहितामा जारी गरिएको छ ।