काठमाडौं – नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा रहने सदस्यहरु टुङ्गो लगाएको छ । तर, अध्यक्ष बाहेक अन्य पदाधिकारी भने अझै टुङ्गो लगाउन सकेको छैन ।

फ्याक्सन इन्चार्ज हितमान शाक्य, अध्यक्ष पञ्चा सिंह, निवर्तमान अध्यक्ष रञ्जित तामाङ सहितको बैठकले १ सय ९९ केन्द्रीय सदस्यहरुको नामावली टुङ्गो लगाएको हो । तर २४ सदस्यीय पदाधिकारी भने टुङ्गो लाग्न बाँकी नै छ ।

गत असोज १४ देखि १८ गतेसम्म चलेको २२ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पञ्चा सिंह चुनिएकी थिइन् । १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी र २४ सदस्यीय पदाधिकारी गठन गर्ने विधानमा व्यवस्था भए पनि जिम्मेवारी बाँडफाँड गरिएको थिएन् । केन्द्रीय समितिमा को–को रहने भन्ने पनि टुङ्गो लागेको थिएन ।

अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहले सोमबार बिहान सामाजिक सन्जालमा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश पदाधिकारीहरु, केन्द्रीय आयोगका सदस्यहरु र पार्टीको राष्ट्रिय सम्मेलनका लागि केन्द्रीय प्रतिनिधिहरुको सूची सार्वजनिक गरेकी छन् ।