काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा केहिबेरपछि मात्रै मतदान प्रक्रिया सुरु हुँदैछ । यतिबेला मतदानस्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदानस्थलको वरिपरि ठूलो मात्रामा प्रहरीको टोली परिचालन गरिएको छ । आज प्रदर्शनीमार्ग वरपरका पसलहरु पनि खोल्न दिइएको छैन । भृकुटीमण्डपको मुख्य गेट पनि बन्द गरिएको छ ।

प्रधानमन्त्री, पार्टीका शीर्ष नेता, गृहमन्त्री, मन्त्रीसहित विशिष्ट व्यक्तिले मतदान गर्ने भएकाले पनि सुरक्षा प्रभावकारी बनाइएको हो । मतदान लागि महाधिवेशन प्रतिनिधि बिहानदेखि नै मतदानस्थल राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा लामबद्ध छन् । मतदान भने अझै सुरु हुन सकेको छैन ।

आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहेपनि प्राविधिक कारण मतदान सुरु हुन नसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मतपत्र छपाइमा केही बिलम्ब भएका कारण मतदान सुरु हुन नसकेको बताइएको छ । समितिका अनुसार १ सय ३२ पदका लागि ४ सय ८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।