हृदयेश त्रिपाठी, फाइल तस्वीर ।
काठमाडौं– गत आमनिर्वाचनमा एमालेको सूर्य चिन्हबाट चुनाव जितेका पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल दर्ता गर्ने हुनुभएको छ । विद्यार्थीकालमा प्रगतिशिल धारका त्रिपाठीको राजनीतिक उतार चढावको फेहरिस्ता लामै छ । नेपाल विद्यार्थी फेडरेनमा रहेर राजनीतिमा आउनु भएका चतुर मानिने त्रिपाठी समय र परिस्थितिलाई ‘क्यास’ गर्न सक्ने नेताका रुपमा चिनिनु हुन्छ ।

कम्युनिस्ट पार्टी, सद्भावना, तमलोपा हुँदा राष्ट्रिय जनता पार्टी हुँदै २०७४ को संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्हबाट स्वतन्त्ररुपमा सांसदमा लडेर नवलपरासीबाट चुनाव जित्नु भएको थियो । तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा केही समय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री बन्नु भएका त्रिपाठी वर्तमान राजनीतिमा केही ओझेलमा बसेर भित्रभित्रै राजनीतिक गतिविधि बढाएर अहिले नयाँ दल दर्ता गरेर पुनः पार्टी राजनीतिमा आउन लाग्नु भएको छ ।

राजनीतिका चतुर खेलाडी त्रिपाठीले भोलि मङ्गलबार काठमाडौंमा ‘जनता प्रगतिशील दल’ नामक नयाँ पार्टी गठन गरेको सार्वजनिक गर्ने चरणमा पुग्नु भएको छ । भोलि बिहान बानेश्वरस्थित एक होटलमा पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ । प्रतिनिधिसभाका सदस्य समेत रहनु भएका त्रिपाठीलाई प्रतिनिधिसभाका अर्का सदस्य वृजेशकुमार गुप्ताको पनि साथ रहेको रहेको छ । गुप्ता पनि २०७४ को संसदीय निर्वाचनमा एमालेको सूर्य चिन्ह लिएर कपिलवस्तु जिल्लाबाट स्वतन्त्र सांसदको रुपबाट चुनाव जितेर प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको हो । कानूनी दृष्टिकोणबाट हेर्दा यी दुवै नेता एमालेका सांसद मानिनुहुन्छ । तर दुवै जनाले आफुलाई स्वतन्त्र सांसद रहेको भन्दै सोही भूमिकामा रहेको आचारण देखाउँदै आउनु भएको छ । एमाले चाहेमा उहाँहरु दुवै जनालाई कुनै पनि बेला सांसद पदबाट हटाउन सक्नेछ ।