काठमाडौं – नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि आज सोमबार मतदान हुँदैछ । केन्द्रीय निर्वाचन समितिको कार्यतालिका अनुसार बिहान ८ बजेदेखि मतदान सुरु गर्ने कार्यक्रम रहेको छ । सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला र प्रकाशमान सिंहले प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

काङ्ग्रेसको नयाँ नेततृत्वका लागि सभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ । त्यसैगरी दुई उपसभापतिका लागि ७ जना, दुई महामन्त्रीका लागि ६ जना र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ । पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि शनिबार २५ गते ५ सय ४८ जनाले उम्मेदवारको लागि मनोनयन दर्ता गरेका थिए । हिजो आइतबार सभापतिका एक उम्मेदवार र एक सहमहामन्त्रीसहित र ५८ जना केन्द्रीय सदस्यका प्रत्यासीहरुले आफ्नो मनोनयन फिर्ता गरेका थिए । प्रदेश २ बाट खुला दुई केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध भएसकेका छन् ।

नयाँ नेतृत्व चयनका लागि सोमबार हुने मतदानका लागि तीन मतदान केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा र भृकुटीमण्डपमा एउटा केन्द्र कायम गरिएको हो । बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्ने छन् ।