फाइल तस्वीर ।
काठमाडौं– नेपाली काङग्रेसको पदाधिकारीसहित केन्द्रीय समितिका लागि मनोनयन दर्ता गराएकामध्ये ६० जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका सदस्य तेज रावलका अनुसार सभापतिको उम्मेदवार गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् भने (थारु कोटा) सहमहामन्त्रीमा उम्मेदवार बनेका सुरेन्द्र चौधरीले पनि आफ्नो मनोनयन फिर्ता लिएका छन् । यस्तै अरु ५८ जना केन्द्रीय सदस्यका उम्मेदवारले पनि मनोनयन फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।


सभापतिका उम्मेदवार न्यौपानेले सभापतिका प्रत्याशी डा.शेखर कोइराला र सुरेन्द्रले सहमहामन्त्रीका उम्मेदवार उमाकान्त चौधरीलाई सघाउने भएका छन् । आगामी नयाँ कार्यसमितिको निम्ति हिजो शनिबार एक सय ३४ पदका लागि पाँच सय ४८ जनाले मनोनयन दर्ता गराएका थिए ।
अब पार्टीको भावि नेतृत्वको सभापति पदमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि नेता डा. शेखर कोइराला, पूर्वउपसभापति प्रकाशमान सिंह र युवा नेता कल्याण गुरुङ गरी ५ जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

यसैगरी दुई उपसभापति पदका लागि सात जनाको मनोनयन दर्ता भएको छ । जसमा उपसभापति विजयकुमार गच्छदार समेत महेश आचार्य, सुजाता कोइराला, डा.चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह, पूर्णबहादुर खड्का रहेका छन् । दुई महामन्त्री पदका लागि गगन थापा, डा.मीनेन्द्र रिजाल, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, डा.राजाराम कार्की, प्रदीप पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महत सहति छ जनाबीच भिडन्त हुने पक्का भएको छ ।