काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । हिजो शनिबार उम्मेदवारको लागि मनोनयनपत्र दर्ता गराएकाहरु मध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । काङ्ग्रेसको निर्वाचन समितिले ११ बजेको समयलाई बढाएर १२ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन चाहने गरी समय थप गरेको थियो ।


केन्द्रीय सदस्य पदको उम्मेदवारी दर्ता गराएकाहरुमध्ये जङ्गीलाल राय, मीन विश्वकर्मा (दलित खुला), दिपक अधिकारी (खसआर्य) सञ्यजकुमार यादव, गोविन्दराज बोहरा,सीताराम महतो (मधेसी), जुनाकुमारी थानी (खसआर्य महिला), ध्रुवराज गुरुङ (जनजाति) छन् ।

यस्तै, भीमार्जुन आचार्य, भक्तबहादुर बलायर (खुला), इन्दिरा थापा, गणेशकुमार मण्डल (मधेसी), विना पौडेल (महिला), माया राना (जनजाति महिला), राजुराज जोशी, गोपीलाल विश्वकर्मा (दलित), मीनाकुमारी थापा (खुला महिला) ले पनि केन्द्रीय सदस्य पदबाट उम्मेदवारी फिर्ता लिएका छन् ।

केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिने अन्यमा विष्णु पौडेल (खस आर्य), अनु गुरुङ (जनजाति महिला), शकुन्तला शर्मा (महिला), महेककुमार कर्माचार्य (अल्पसङ्ख्यक), सिंहबहादुर राना (जनजाति खुला), सङ्गीता मण्डल, सीता पौडेल, कमलप्रसाद भूषाल, उमेशकुमार बस्नेत (खस आर्य) र माधवप्रसाद आचार्य छन् । निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय १२ बजेसम्म तोकेको छ । दिउँसो १ बजे अन्तिम नामावली प्रकाशित गर्ने निर्वाचन समितिले जनाएको छ । नेपाली काङ्ग्रेसको आगामी नयाँ कार्य समितिको लागि भोलि निर्वाचन हुँदैछ ।