फाइल तस्वीर ।
रुपन्देही – नेपाल कम्युनिस्ट पार्टी (ए स) का अध्यक्ष माधवकुमार नेपालले नेपाली काङ्ग्रेस, माओवादी केन्द्र सहितको पाँच दलीय गठबन्धन कसैले चाहँदैमा नभत्किने दावी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन नेपाल रुपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उक्त धारणा व्यक्त गर्नु भएको हो ।


अध्यक्ष नेपालले आगामी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनसम्मै पाँच दलीय गठबन्धन कायम हुने भन्दै ‘कसैले गठबन्धन तोड्ने प्रयास गरे त्यो दिवा सपना’ हुने बताउनु भएको छ । अध्यक्ष नेपालले ‘अहिले गठबन्धन भत्काउने प्रयास भइरहेको छ । तर, त्यो कुनै पनि अवस्थामा सफल हुन सक्दैन ।’ नेपाली जनताले रगत बगाएर प्राप्त गरेको उपलब्धि रक्षा गर्न पनि गठबन्धनको औचित्यलाई निर्वाचनसम्मै कायम राख्नुपर्नेमा जोड दिंदै अध्यक्ष नेपालले नेकपा एमालेलाई केपी ओलीको प्राइभेट कम्पनीको संज्ञा दिँदै ओलीको प्राइभेट कम्पनीबाट मुक्त भएर समाजवादीमा सामेल हुन आग्रह गर्नुभयो ।

नेकपा एमाले विभाजनको अन्तिम समयमा एमालेमै रहेका नेताहरूतर्फ इङ्गित गर्दै भन्नुभयो, ‘आउनोस् साथीहरू नेकपा एकीकृत समाजवादीमा स्वागत गर्न तयार छौं । बिहान हराएको परिवारको सदस्य साँझ फर्कियो भने हराएको मानिदैन, तसर्थ तपाईंहरूलाई स्वागत छ’ अध्यक्ष नेपालले भन्नुभयो । नेकपा समाजवादी देश र जनताको लोकप्रिय पार्टी भएर उदाउने दाबी गर्दै अध्यक्ष नेपालले देशैभरि सङ्गठन निर्माण अभियानलाई तीव्रता दिएको बताउनु भएको छ ।