फाइल तस्वीर ।
काठमाडौं — प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पौडेल निवास बोहोराटारमा भेटवार्ता भएको छ । काङ्ग्रेसको १४ औं महाधिवेशन चलिरहँदा प्रधानमन्त्री समेत रहेको सभापति देउवाले वरिष्ठ नेता पौडेललाई भेटेर अहिले नै राजनीतिबाट सन्यास नलिन आग्रह गर्नुभएको छ ।


वरिष्ठ नेता पौडेलले आफु सभापति पदको लागि इतरपक्षबाट सर्वसम्मत हुन नसकेपछि राजनीतिबाट सन्यास लिने धारणा सार्वजनिक गर्नुभएको थियो । नेता पौडेल महाधिवेशनमा उपस्थित भए पनि उहाँमा कुनै निरासपन देखिएको थियो । नेता पौडेलले १४ औं महाधिवेशनमा कुनै पनि पदका लागि उम्मेदवारी नदिइ बस्नुभयो । यसै विषयलाई लिएर पार्टी सभापति देउवा वरिष्ठ नेता पौडेललाई फकाउन बोहोराटार पुग्नु भएको हो ।


प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति देउवाले वरिष्ठ नेता पौडेललाई ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनि अग्रह गर्नुभएको बोहोराटार स्रोतको भनाइ छ । उहाँहरुबीच करिब एकघण्टा कुराकानी भएको थियो । पौडेलले देउवालाई सत्ताको प्रभाव पार्टीको राजनीतिमा प्रयोग नगर्न आग्रह गर्नुभएको स्रोतको भनाइ छ ।

वरिष्ठ नेता पौडेलले १४ औं महाधिवेशनमा पार्टीको सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको र कुनै पदमा नबस्ने बताउनु भएको थियो । हिजोमात्रै पत्रकारहरुसँग कुरा गर्दै आफुले राजनीतिबाट सन्यास नलिने बताउनु भएको थियो । नेता पौडेल चालु महाधिवेशनमा देखिएको अस्वस्थ प्रतिस्पर्धाबाट वाक्क भएर कहिले सक्रिय राजनीतिबाट सन्यास लिने त कहिले नलिने बताउँदै आउनु भएको छ । नेता पौडेल यतिबेला द्विविधामा रहेको प्रस्ट हुन्छ ।