फाइल तस्वीर ।

काठमाडौं – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीतिबाट सन्यास लिने सम्भावना देखिएको छ । महाधिवेशन अघिसम्म सभापतिको आकाङ्क्षी देखिएका पौडेल संस्थापनइतर समूहबाट कसैले पनि नछोडे पछि एकाएक राष्ट्रिय राजनीतिबाटै सन्यास लिन सक्ने सङ्केत देखिएको हो । हिजो महाधिवेशन उद्घाटनको समयमा महाधिवेशन स्थल नजाने भनेर घरै बसेका पौडेल विमलेन्द्र नीधिलगायतका केही नेताहरुको आग्रहपछि मात्रै महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका थिए ।

वरिष्ठ नेता पौडेलले आज एक विज्ञप्ती जारी गर्दै आफु १४ औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नभन्ने सार्वजनिक गरेका थिए । सोही अनुरुप वरिष्ठ नेता पौडेलले आज कुनैपनि पदमा उम्मेदवारी नदिएको काङ्ग्रेसको निर्वाचन समितिले जनाएको छ । काङ्ग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शनिबार साँझ ५ः०० बजेसम्मका लागि उम्मेदवारी दर्ता गराउने समय सीमा तोकिएको थियो ।

पार्टीको आगामी नेतृत्व, पदाधिकारी तथा सदस्यहरुको सोमबार २७ गते हुने निर्वाचनको लागि राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्ने नेताहरुको भीडभाड भइरहँदा वरिष्ठ नेता पौडेल भने कतै देखिएनन् । नेता पौडेल प्रकाशमान सिंह र शेखर कोइरालालाई पार्टीको आगामी नेतृत्वका निम्ति मिलेर जान या आफ्नो नेतृत्वलाई स्वीकार गर्न पटक पटक आग्रह गरेका थिए । तर दुवै नेताले पौडेललाई सभापतिमा साझा उम्मेदवार बनाउन इन्कार गरेपछि सभापतिको आकाङ्क्षामा पूर्णविराम लाग्न पुग्यो । यसै सेरोफेरोमा आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरिसकेका वरिष्ठ नेता पौडेलले पार्टीको केन्द्रिय सदस्यमा समेत उम्मेदवारी दिन गएनन् ।

संस्थापनइतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बनाउन कोशिस गरेपनि त्यसमा सफल नभएपछि पौडेल निराश भै राजनीतिबाट सन्याय लिनेसम्मको अभिव्यक्ति पनि सार्वजनिक भएको छ । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जीवनको उत्तरार्धमा जसरी नेपाली काङ्ग्रेसबाट अपहेलित भएर निष्कृय भएका थिए, वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था पनि झण्डै त्यही अवस्थामा पुगेको छ ।

अन्तिम समयसम्म पौडेललाई इतर समूहको साझा उम्मेदवार बनाउन प्रयत्न भएको र डा. शेखर कोइरालाले समेत पौडेललाई स्वीकार गर्न कोइराला सकारात्मक भएपनि प्रकाशमान सिंहको अड्किा कारण पौडेल निराश बन्दै सभापतिको रिङबाट आउट हुन पुगे । केही दिनअघि सिंह निवास चाक्सीबारीमा भएको संस्थापनइतरका नेताहरुको छलफलमा सिंह र कोइराला नमिने आफू राजनीतिबाट बिदा हुने र महाधिवेशनमा पनि सहभागी नहुने अभिव्यक्ति दिएका थिए । वरिष्ठ नेता पौडेल अब गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्तै काङ्ग्रेसी राजनीतिबाट सन्यास लिनेछन् त ? महाधिवेशन पछि नेता पौडेलको राजनीतिक यात्रामा पूर्ण बिराम लाग्ने नलाग्ने थाहा लाग्नेछ ।