काठमाडौं– हिजोबाट काठमाडौंमा सुरु भएको नेपाल काङ्ग्रेसको १४ औं महाधिवेशनमा आगामी कार्यसमितिका लागि उम्मेदवारी दर्ता भएको छ । यस पटक महाधिवेशनबाट नयाँ नेतृत्वका लागि ठूलो रस्साकस्सी हुने देखिएको छ । आज गरिएको उम्मेदवारी दर्तामा सभापति, उपसभापति र महामन्त्रीमा ६/६ जनाले प्यानल सहित उम्मेदवारी दर्ता गराएका छन् । नेतृत्वमा केन्द्रीत हुनुपर्ने महाधिवेशनमा नेतृत्वका लागि मात्रै घम्साघम्सी हुने देखिएको छ । यो घम्साघम्सीबाट नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल बाहिरिनु भएको छ । नेपाली काङ्ग्रेस निर्वाचन समितिले बताए अनुसार सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरु प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि, युवराज न्यौपाने र कल्याण गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।


त्यसैगरी उपसभापति पदमा पनि ६ जनाको उम्मेदवारी परेको छ । जसमध्ये उपसभापति पदमा पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्री साहले उम्मेदवारी दर्ता गराएका छन् ।


महामन्त्री पदमा डा. मीनेन्द्र रिजाल, डा.प्रकाशशरण महत, गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री पदमा भने १२ जनाको उम्मेदवारी परेको छ । जसमा किशोर सिंह राठोर, रञ्जित कर्ण, जीवन परियार, वद्री पाण्डे, फरमुल्लाह मन्सुर, मान वहादुर विक, सुरेन्द्र चौधरी, देवराज चालिसे, विकास लामा, रामकृष्ण यादव, कमला पन्त, तेजुलाल चौधरी रहेका छन् । काङ्ग्रेसको १४ औं महाधिवेशन इतिहासिक हुने देखिएको छ ।


महाधिवेशनमा पार्टीको नीति र भावी कार्य योजना पेशहुनु पर्ने, त्यसबारेमा छलफल हुनु पर्नेमा कुनै पनि व्यक्ति र समूहबाट आफ्नो उम्मेदवारी के का लागि भन्ने नै स्पष्ट छैन । नेताहरु केवल नेतृत्वका लागि हानथाप गरेका छन् । विचार, नीति र कार्यदिशा बिहीन बन्दै गएको काङ्गे्रस यही गतिमा जाने हो भने अवशेष बाहेक केही केही पाउन सक्ने अवस्था देखिंदैन ।