काठमाडौं – नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो । सम्मेलनको आज दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, बागमतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।

सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन हुनेछ । प्रदेश समितिमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् । माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुष ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।