पाल्पा – स्वास्थ्यमन्त्री विरोध खतिवडाले सरकारको प्रभावकारी व्यवस्थापनले कोरोनाविरुद्धको खोपबाट नागरिक वञ्चित हुन नपर्ने बताउनुभएको छ । सरकारले सबै नागरिकलाई खोपको व्यवस्थापन गरिरहेकाले दोस्रो पटकको खोप लगाउन पाउने उहाँले बताउनुभयो । पाल्पाको तानसेनमा आयोजित नेकपा (एकीकृत समाजवादी) पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा मन्त्री खतिवडाले दुवै मात्रा खोप लगाएका नागरिकलाई बुस्टर डोज लगाउने तयारी भइरहेको बताउनुभयो ।

उहाँले सरकारले सबै स्थानीय तहमा अस्पतालको व्यवस्थापन गर्न पाँचदेखि २० शय्याको अस्पताल निर्माणका निम्ति बजेट विनियोजन गरिएको बताउनुभयो । सामान्य बिरामीहरू स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाबाट उपचार गराउने व्यवस्था गर्न बजेटको सुनिश्चित गरिएको मन्त्री खतिवडाले बताउनुभयो ।

स्वास्थ्य बीमामा देखिएको समस्या समाधान गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो । सरकारले नागरिकको सुविधाका लागि सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमले नागरिकलाई राहत हुनुपर्ने खतिवडाले बताउनुभयो । आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन रहने पनि खतिवडाको दाबी छ ।