काठमाडौं – प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न १४ औं महाधिवेशनमा आफूलाई फेरि सभापतिमा विजयी बनाए काङ्ग्रेसले तिनै तहको निर्वाचनमा जित हासिल गर्ने बताउनुभएको छ । उहाँले आज १४ औं महाधिवेशन भृकुटीमण्डपमा उद्घाटन सत्रमा बोल्दै सो कुरा बताउनुभएको हो ।

काङ्ग्रेस सभापति देउवाले केन्द्रदेखि स्थानीय तहसम्म सरकार बनाउने जिम्मेवारी आफ्नो रहेको भन्दै उद्घाटनसत्रमा आफ्नो लागि मत माग्नुभएको छ । महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उहाँले आफ्नै कारणले गर्दा मुलुकलाई केपी ओलीको तानाशाही शासनबाट मुक्त गराएकाले अब फेरि निरङ्कुश सरकार व्यहोर्ने कि काङ्ग्रेसकै सरकार बनाउने भनी निर्णय लिन प्रतिनिधिलाई प्रश्न गर्नुभयो ।

सभापति देउवाले भन्नुभयो, ’डर त्रासबाट मुक्त शासनलाई हटाएर नेपालमा काङ्ग्रेसको सरकार बनाइनेछ । तपाईंहरू मलाई मत दिनुस् ।’ सभापतिमा जिताउन आग्रह गर्दै उहाँले कार्यकर्तालाई भन्नुभयो, ‘आउँदो सरकार काङ्ग्रेसको हुन्छ, गाउँदेखि माथिसम्म । त्यो मेरो जिम्मा भयो ।’ उहाँले अगाडी भन्नुभयो ‘भोलि चुनाव आउँछ, आन्तरिक निर्वाचनमा भएको मनमुटावले आगामी स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा कुनै असर नगरोस् । कुनै पनि हालतमा डर र त्रासबाट मुक्त शासन ल्याएरै छाडिन्छ । काङ्ग्रेसको सरकार बनाउँछु बनाउँछु बनाउँछु । तपाईंहरु मलाई साथ दिनुस् ।’