काठमाडौं – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालले पार्टीको १४ औँ महाधिवेशनबाट काङ्ग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताउनुभएको छ । काङ्ग्रेसको १४ औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ ।” संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताउनुभयो ।

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले उहाँले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उल्लेख गर्नुभयो । “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उहाँले भन्नुभयो । आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताउनुभयो । रासस