काठमाडौं – नेपाली काङ्ग्रेसको संस्थापनइतरले सभापति देउवाको विकल्प खोजिरहेको छ । तर इतरसमूहका नेताहरुबीच नै सभापति पदको लागि रस्साकस्सी चलिरहेको छ । इतिर समूह पार्टीको आगामी नेतृत्वका लागि सभापतिको लागि साझा उम्मेदवार बनाउन नसकेको नेता डा. मिनेन्द्र रिजालले पत्रकारसामु बताएका छन् ।

महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रियामा डा. मीनेन्द्र ‘हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौं, तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन’ भनेका छन् । काङ्ग्रेस महाधिवेशनमा महामन्त्री पदको लागि प्रत्यासी बनेका डा. मीनेन्द्र रिजालले सभापतिको टुङ्गो नलाग्दा आफूहरु पनि अलमलमा परेको भन्दै ‘म अहिले शीर खोजिरहेको छु, सभापतिको उम्मेदवारको बन्ने निश्चित छैन । ‘देउवाको विकल्पको खोजीमा छौं, तर सहमति हुन सकेको छैन ।’

नेता डा. मीनेन्द्र्रले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको खुलासा गरेका छन् । त्यसो त संस्थापनइतर समूहकै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् । सभापतिका अर्का आकाङ्क्षी डा. शशाङ्क कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने भए आफुले सभापति पदको दावी छाडेर वरिष्ठ नेता पौडेललाई नै सहयोग गर्ने भन्दै पाखा लागेका छन् ।

इतर समूहका प्रकाशमान र डा.शेखरले आ–आफुबीच भिड्नुभन्दा वरिष्ठ नेता पौडेललाई साझा उम्मेदवार बनाउन मार्ग प्रशस्त गरिदिने हो भने वर्तमान सभापति शेरबहादुर देउवालाई कडा चुनौती हुने देखिन्छ । सिंह र कोइराला दुवैले उम्मेदवारी दिने अन्तिम समयमा वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउन सक्ने सम्भावना पनि त्यति नै छ । किनकी संस्थापनइतर समूह जसरी पनि काङ्ग्रेस पार्टीको आगामी नेतृत्व देउवाको पोल्टामा नपरोस् भन्ने पक्षमा नै छ । देउवालाई टक्कर दिने नेता वरिष्ठ नेता पौडेल बाहेर अरु हुन नसक्ने कार्यकर्ताहरुको बुझाइ छ ।

संस्थापन समूहबाट भने शेरबहादुर देउवा सभापतिका लागि एकल उम्मेदवार हुन् । संस्थापन पक्षबाट देउवाको विकल्प अरु देखिएका छ्रैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेललाई इतरपक्षले साझा उम्मेदवार तय गरेमा भित्रिरुपबाट कृष्णप्रसाद सिटौला र विमलेन्द्र नीधिले पनि साथ दिन सक्ने विश्लेषण गर्न थालिएको छ । देउवाको विकल्प रामचन्द्र पौडेल समूहले मात्र होइन, स्वयम सिटौला र नीधिले पनि चाहेका छन् । त्यसैले अन्तिम समयमा काङ्ग्रेस सभापतिको भिडन्त देउवा र पौडेलबीच पनि नहोला भन्न सकिन्न ।