काठमाडौं – आज शुक्रबार नेपाली काङ्ग्रेसको १४औं महाधिवेशन सुुरु हुँदै छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो १ बजे भृकुटीमण्डपमा महाधिवेशनको उद्घाटन गर्नुहुने छ । महाधिवेशनको उद्घाटनसत्रमा नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगयात भारतीय जनता पार्टी र भारतीय काङ्ग्रेस आईका प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम दुई घण्टामा सक्ने र भोलिबाट आगामी नेतृत्वका लागि निर्वाचनको कार्यक्रम सुरु हुने बताइएको छ । आगामी नेतृत्वका लागि मङ्सिर २७ गते निर्वाचन हुने छ । महाधिवेशनमा आएका प्रतिनिधिहरुले पार्टीको आगामी नेतृत्वका लागि भृकुटीमण्डपस्थित राष्ट्रियसभा हल, पुलिस क्लब र महाधिवेशन आयोजनास्थल भृकुटीमण्डप गरी तीन स्थानमा बनाइएका मतदान केन्द्रमा मतदान गर्ने छन् ।

पार्टीको आगामी नेतृत्वको लागि भोलि शनिबार बिहानैदेखि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ । काङ्ग्रेसमा आगामी नेतृत्वको लागि धेरैजना आकाङ्क्षी रहेका छन् । संस्थापन पक्षबाट प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा नै एकमात्र प्रत्याशी हुनु हुनेछ भने संस्थापनइतर समूहबाट अहिलेसम्म साझा उम्मेदवार तय हुन सकेको छैन । त्यसो त १३ औं महाधिवेशनमा सभापति देउवालाई सघाएका उपसभापति विमलेन्द्र नीधिले पनि १४ औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । संस्थापनइतर समूहबाट नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले उम्मेदवारी दिने निश्चित प्रायः छ । यसरी हेर्दा नेपाली काङ्ग्रेसको आगामी नेतृत्व पनि शेरबहादुर देउवाको हातमा सहजै पुग्ने देखिएको छ ।


पार्टीको नेतृत्व हत्याउन सभापति देउवाले स्थानीयदेखि प्रदेश अधिवेशनबाट आफ्ना समूहलाई जिताउँदै ल्याउनु भएको छ । सत्ता, शक्ति र पैसामा नेपालको वर्तमान राजनीति चलेको छ । पार्टीको सिद्धान्त, विचार र भावी कार्यक्रम र रणनीति के त भन्नेमा न काङ्ग्रेस नै प्रष्ट छ न त आफुलाई सर्वहारावर्गको नेतृत्व गर्ने भन्ने कम्युनिस्टहरु नै । जनवादको नारा लगाउने कम्युनिस्टहरु आज धनवादमा रुपान्तरित भएकाले जनवाद अब कोमामा पुगिसकेको छ ।


यस्तै आफुलाई लोकतन्त्र र प्रजातन्त्रको पर्याय ठान्ने नेपाली काङ्ग्रेस पनि धनवादमै केन्द्रीत छ । पार्टीका महाधिवेशन पनि धनवादमै केन्द्रत देखिन्छ । पार्टीको महाधिवेशनबाट नेतृत्वमा पुग्न अब सिद्धान्त, विचार र कार्यदिशाको प्रश्न न कार्यकर्ताले उठाएका छन्, नत पार्टी नेतृत्वले नै । महाधिवेशन ठूलै धनरासी खर्च गरेर नेतृत्व र पदाधिकारीमा पुग्ने प्रवृत्तिले नेपाली राजनीति टुकुचाको फोहोर जस्तै प्रदुषित र घिनलाग्दो बनेको छ । यसैको परिणती स्वरुप पार्टीको नेतृत्व हत्याउन अनेकन चलखेल र वितण्डता हुने गरेका छन् । पार्टी एउटा, गुट उपगुट अनगिन्ती । कुनै पनि पार्टीको नेतृत्व समग्र पार्टीको नभै गुटको नेतृत्व गरिरहेका छन् । पार्टीलाई एक ठिक्का बनाएर लान न कम्युनिस्टहरु सफल छन् न त काङ्ग्रेस नै । त्यसो त हिजो राजतन्त्र र हिन्दुत्वको वकालत गर्ने राप्रपा जस्तो दक्षिणपन्थी पार्टी पनि चरम गुट र उपगुटको शिकार बनेको छ । कुनै पनि पार्टी गुट र उपगुट बिहीन छैनन् ।

गुट र उपगुटको मनोदशाबाट गुज्रिएको नेपालको राजनीतिको छायाँ नेपाली काङ्ग्रेसमा पनि देखिएको छ । महाधिवेशन सुरु हुने दिनसम्म पनि संस्थापन र संस्थापनइतर दुवै समूहले नयाँ नेतृत्वसहितका पदाधिकारीहरुको सूची बनाउन सकेका छैनन् । संस्थापन र संस्थापनइतर पनि गुटहरु हावी हुँदै गएका कारण काङ्ग्रेसमा पनि ठूलो विग्रह आउने देखिएको छ । नेपाली कम्युनिस्ट पार्टीहरुको त इतिहास नै गुट र फुटको छ । त्यो रोग अब नेपाली काङ्ग्रेस र राप्रपा जस्ता पार्टीमा पनि बल्झिएको छ । व्यक्तिगत कुण्ठाले पार्टी भित्र मौलाएको निषेधको राजनीतिले पार्टीलाई मात्र होइन, मुलुकको राष्ट्रियता, स्वतन्त्रता र सार्वभौमसत्तामा समेत आँच आउने काम भएको छ ।

अघिल्लो महाधिवेशनमा देउवाले आफु सभापतिमा विजय भएपछि पार्टीमा कुनै विभेद नगर्ने, पार्टीलाई एक ढिक्का बनाएर लैजाने र गुटको अन्त्य गर्ने घोषणा गर्नु भएको थियो । तर सभापतिमा निर्वाचित भए लगतै देउवाले पार्टीभित्र निषेधको राजनीति गर्दै आफ्ना समूहको उत्थानमा लाग्दा नेपाली काङ्ग्रेसले स्थानीय तहदेखि प्रतिनिधिसभाको निर्वाचनमा समेत नराम्रो पराजयको पीडा भोग्नु पर्यो । संस्थापन पक्षले वर्तमान सभापति देउवालाई नै सभापतिको उम्मेदवार बनाउने पक्का गरे पनि अरु पदाधिकारीहरुमा सहमति जुट्न सकेको छैन । देउवाले संस्थापनइतरलाई पनि समेटेर जाने इच्छा त व्यक्त गर्नु भएको छ, तर त्यसका निम्ति उहाँ र उहाँका निकटस्थहरुले कुनै पनि पहल गरेनन् । इतर पक्षलाई समेट्न देउवालाई सुझाउने वित्तिकै आफ्नो पद खोसिनेमा देउवा समूहका नेताहरुको बुझाइ छ । संस्थापनभित्रै पदाधिकारीहरुका आकाङ्क्षी बढी देखिएपछि सभापति देउवालाई आफ्नै कोटरीका नेतालाई मिलाउन सकस भइरहेको छ । अहिले त झन, पार्टीमा गुट र उपगुट मौलाएको छ । यसले काङ्ग्रेसको आगामी दिन पनि झन दयनीय बन्न सक्नेछ ।

यता संस्थापनइतरमा सभापति पदको उम्मेदवारको लागि ठूलो माथापच्चिसी चलेको छ । पार्टीमा गणेशमानको विराशत प्रकाशमानले खोजेका छन् भने कोइरालाको विराशत डा.शेखरले । अर्कोतिर आफु वरिष्ठ भएकै कारण रामचन्द्र पौडेलको पनि चाहना सभापति कै हो । तर अब रामचन्द्र पौडेल सभापतिको प्रत्यासी भन्ने सम्भावना कम हुँदै गएको छ । काङ्ग्रेसमा गणेशमान सिंहको विरासत बोक्दै आएका प्रकाशमानले भने अरु पदमा सम्झौता गरे पनि सभापति पदबाट आफू पछि नहट्ने अडान राख्दै आएका छन् । पार्टीको पूर्वउपसभापति र पूर्वमहामन्त्री भैसकेका सिंह आफुलाई संस्थापन पक्षको साझा उम्मेदवार बन्न अन्तिम प्रयास रहेका छन् । केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा आआफ्नो दावी छाडेका छैनन् । यी दुवैले सभापतिको लागि आफ्नो प्रचार सुरु गरिसकेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा दिउँसो १ बजे सुरु हुने महाधिवेशनमा ४ हजार ७ सय जना महाधिवेशन प्रतिनिधिले भागलिने छन् । पूर्वदेखि सुदूरपश्चिमबाट महाधिवेशन प्रतिनिधिहरु राजधानी आइपुगेका छन् ।

महाधिवेशनले काङ्ग्रेसको नयाँ नेतृत्वको लागि एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने काङ्ग्रेसको विधानले व्यवस्था गरेको छ । यसबाहेक पार्टी सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार आजै बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि सोही दिन साँझ ५ देखि ७ बजेसम्म हुनेछ। दाबी विरोधउपर निर्णय भने साँझ ७ देखि ९ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबार राति ९ देखि १२ बजेसम्म, मनोनयनपत्र फिर्ता लिइसक्नुपर्ने समय आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका रहेको काङ्ग्रेस निर्वाचन समितिले जनाएको छ ।