काठमाडौं – नेपाली काङ्ग्रेसको नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । १५ बुँदे अवधारणापत्र सार्वजनिक गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको हो । महामन्त्रीमा उम्मेदवार थापाले पार्टी रुपान्तरणको प्रस्ताव अघि सार्नुभएको छ । आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सार्नुभएको हो ।

‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो प्रस्तावमा आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ । थापाले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने पनि स्पष्ट उल्लेख गर्नुभएको छ ।

कार्यक्रममा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब बहाना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले जनआन्दोलनपछि ठिक हुन्छ भन्यौँ, त्यसपछि संविधानसभा निर्वाचन, संविधान निर्माण, नयाँ संविधानअनुसार राज्यको पुनर्संचना भएपछि ठिक हुन्छ भन्यौँ,’ ‘तर, अहिले अहिले जनतामाझ गरिएका वाचा पूरा भएनन् । राज्यका निकाय कमजोर बने ।’ आफ्नो उम्मेदवारी घोषणा गर्दै थापाले पुरातनशैलीबाट पार्टी सञ्चालन भएको भन्दै परिवर्तन आवश्यक रहेको पनि बताउनुभयो । थापाले भन्नुभयो– अब नारामा होईन व्यवहारका खोजिने र भेटिने काङ्ग्रेस बनाउनुपर्छ ।