काठमाडौं– नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले प्रदेश समिति पदाधिकारी र सङ्ख्या बढाउने निर्णय छ । बिहीबार दिउँसो बसेको बैठकले यसअघिको ७ पदाधिकारीमा थप गर्दै ९ जना बनाउने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी गराउनु भएको हो ।

प्रवक्ता महराका अनुसार एक अध्यक्ष, तीन उपाध्यक्ष, सचिव एक , तीन सहसचिव र एक कोषाध्यक्ष रहने छन् गरी नयाँ साङ्गठनिक संरचना निर्माण गरेको छ । त्यस्तै प्रदेश समितिको सङ्ख्यासमेत बढाएको छ । यसअघि १ सय ७५ सदस्यीय समिति बनाउने भनिएकोमा त्यसलाई बदल्दै एक सय ७५ लाई आधार मानेर निर्वाचन क्षेत्र र पालिकाको आधारमा सङ्ख्या थप गर्ने निर्णय गरेको छ ।

अब प्रदेश १ मा २ सय ५९, प्रदेश २ मा २ सय ७१, बागमती प्रदेशमा २ सय ७५, गण्डकी प्रदेशमा २ सय २९, लुम्बिनी प्रदेशमा २ सय ५३, कर्णाली प्रदेशमा २ सय ११ र सुदूरपश्चिम प्रदेशमा २ सय २३ सदस्यीय प्रदेश समिति बन्ने छन् । त्यस्तै बैठकले पार्टी प्रवेश गर्नेहरुको अध्ययन गर्न देव गुरुङ, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल रहेको कार्यदल बनाएको छ । आज बसेको बैठकले महिला विभाग थपेको छ भने त्यसको नेतृत्वको जिम्मेवारी पम्फा भुसाललाई दिने निर्णय गरेको छ ।