फाइल तस्वीर ।
ललितपुर– ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली काङग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज बसेको बैठक वर्तमान केन्द्रीय समितिको अन्तिम बैठक हुनेछ । पार्टी कार्यालय सानेपामा केहीबेर अघिमात्र सुरुभएको केन्द्रीय समितिको बैठकलाई वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंहले बहिस्कार गरेका छन् । आजको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश हुने भएको छ ।

अहिले सानेपामा बसेको केन्द्रीय समितिको बैठक १३ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक हो । आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयले जनाएको छ ।

आजकै बैठकमा भोलिदेखि सुरु हुने १४ औं महाधिवेशनबाट पदाधिकारी र केही केन्द्रीय सदस्य समेत थप गर्ने प्रस्ताव सभापति देउवाले पेश गर्ने बुझिएको छ । सभापति देउवाको पदाधिकारी र केन्द्रीय सदस्य थप्ने विषयप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता पौडेल र नेता सिंह आजको केन्द्रीय समितिको बैठक बहिस्कार गरेपछि उक्त प्रस्तावबाट अन्योलमा परेको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन भोलि शुक्रबारदेखि तीन दिनसम्म सुरु हुँदैछ ।

महाधिवेशनको अन्तिम समयमा आइपुग्दा समेत सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीमा कसकसलाई उम्मेदवार बनाउने भन्ने विषयमा मतऐक हुन सकेको छैन । दुवै पक्षबाट पदाधिकारी र केन्द्रीय सदस्यका लागि ठूलै जत्था उम्मेदवार बन्ने देखिएको छ । काङ्गे्रसको नेतृत्व शेरबहादुर देउवाको पोल्टामा पुगे पनि पदाधिकारीमा ठूलै प्रतिस्पर्धा हुने देखिएको छ ।