काठमाडौं – नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनमा काङ्ग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

उहाँले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पार्नुभयो । पदाधिकारी नहुँदा आफ्ना मुद्दाहरू उठाउन गाह्रो भएको सुनाउँदै नेता विश्वकर्माले यसपटक सह–महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताउनुभएको छ । उहाँले समग्र देशको हितको लागि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औंल्याउनुभएको छ ।

नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उहाँको भनाइ थियो । देउवा पराजित भए मुलुकको राजनीतिक नेतृत्व पनि बदलिने दाबी गर्दै नेता विश्वकर्माले अस्थिरता रोक्न देउवालाई जिताउनुपर्ने बताउनुभयो । उहाँले विमलेन्द्र निधि सभापतिमा लडे पनि त्यसको क्षतिपूर्ति अन्यत्रबाट गरिने दाबी समेत गर्नुभयो ।