काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताउनुभएको छ । आज बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि उर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने पनि बताउनुभयो । उहाँले सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितीमा पुगेको बताउनुभयो ।

मन्त्री भुसालले जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासङ्घले सहयोग गर्नेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले महासङ्घको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताउनुभयो । मन्त्री भुसालले उपभोक्ता महासङ्घले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत खपत गराउने र सबै उर्जामा विद्युतीय उर्जा उपयोग गर्ने अभियानका रुपमा रुपान्तरण गर्दै लैजानुपर्ने बताउनुभयो ।

मन्त्री भुसालले भन्नुभयो, ‘सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत उत्पादन गर्न पाउने अवसरले हामी अब घरायसी प्रयोगमा पर्याप्त विद्युत उपलब्ध गराउने स्थितीमा छौँ । अहिले एकातिर हामी आम जनतामा २ वर्ष भित्रै विद्युतिकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत उपभोक्ता महासङ्घ पनि सहयोगी नै हुनेछ । जहाँ केन्द्रिय प्रशारण लाइन पुग्ने छैन त्यहाँ सामुदायिक विद्युत उपभोक्ता महासङ्घमार्फत् त्यो अभियान पूरा गर्नेछौँ । अब फेरि हामी नयाँ ठाउँमा आएका छौँ । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यानमा राखोस् । अब हामी उर्जाका सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउनुपर्छ । यो उपभोक्ता महासङ्घको अब नयाँपन र औचित्यता बढी भन्दा बढी विद्युत खपत गराउने र सबै उर्जामा विद्युतिय उर्जा उपयोग गर्ने अभियानका रुपमा यसले आफूलाई रुपान्तरण गरोस् । एउटा बेलाको एउटा आवश्यक्ता पूरा गरेर हामीले सधैँ त्यसैमा रहन सक्यौँ भने हामी राम्रो स्तरमा हुन्छौँ । अहिलेको विद्युतको कुरा गर्दा अग्रगमन भनेको उर्जाका सबै चाहे घरेलु होस्, चाहे उद्योग होस् । चाहे कृषि वा सिँचाइ होस् । वा यातायातमा होस् । सबै ठाउँमा विद्युतिय साधनहरु र विद्युतको खपत गर्ने कुरालाई अभियानको रुपमा यहाँहरुले बढाउनु हुनेछ । सरकार, नेपाल विद्युत प्राधिकरण, सामुदायिक विद्युत उपभोक्ता महासङ्घसित साझेदारी, सहकार्य गरेर जानेछ र त्यसमा के के सामञ्जस्यता, सहुलियतहरु बढाएर त्यो अभियानको निम्ति जानुपर्छ । मन्त्रालय, सरकार र प्राधिकरण सकारात्मक रहेको विश्वास दिन चाहन्छु ।’

मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत भुक्तानी नगरेको, विनियमावलीले तोकेको भन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको बताउनुभयो । उहाँले केही सामुदायिक संस्थाका उपभोक्ताहरुले आफूलाई संस्थाबाट अलग बनाइ नेपाल विद्युत प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि बताउनुभयो ।