काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धामा हुने जित–हारलाई स्वाभाविक रुपमा लिन आग्रह गर्नु भएको छ । काङ्ग्रेस सह–महामन्त्री डा. प्रकाशशरण महतले नेपाली काङ्ग्रेस र राष्ट्र निर्माणका बारेमा लेख्नुभएको ’नेपाली काङ्ग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तक विमोचन गर्दै प्रधानमन्त्री देउवाले पार्टीको १४औं महाधिवेशनमा सकेसम्म सहमतिको आधारमा नेतृत्व चयन गर्ने बताउनुभएको हो ।
केन्द्रीय नेता, महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्री तथा सभापति देउवाले भन्नुभयो, सहमति नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा हुने जित–हारलाई स्वाभाविक रुपमा लिएर कुनै पनि प्रकारको कटुता राख्न हुँदैन । उहाँले नेपाली काङ्ग्रेसको महाधिवेशन नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा कोशेढुङ्गा हुने उल्लेख गर्दै महाधिवेशनमा भाग लिन उत्साहपूर्वक काठमाडौं आएका नेता–कार्यकर्ताहरू उस्तै उत्साह बोेकेर जिल्ला फर्किने र आगामी चुनावमा नेपाली काङ्ग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउने कार्यमा लाग्न निर्देशन दिनुभयो ।
सह–महामन्त्री डा.महतले त्रिभुवन विश्वविद्यालयमा एमए अध्ययन गर्दा लेखेको शोधपत्रलाई परिमार्जन गर्दै पुस्तकको स्वरुप दिनु भएको हो । कार्यक्रममा डा.महतले भन्नुभयो, बीपी कोइरालाको पालामा नेपाली काङ्ग्रेसको आर्थिक नीति जे थियो, आधुनिक नेपालको आर्थिक नीतिको जग त्यही नै हो । ‘बीपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’द्वारा प्रकाशित सो पुस्तकमाथि टिप्पणी गर्दे सो संस्थाका डा.पोषराज पाण्डे र डा.प्रभु बुढाथोकीले बीपी कोइरालाको पालामा रहेको नेपाली काङ्ग्रेसको आर्थिक नीति नै आधुनिक नेपालको आर्थिक नीति रहेको कुरा सो पुस्तक पढेपछि थाहा हुने भन्दै नेपाली काङ्ग्रेसको आर्थिक, सामाजिक नीतिका बारेमा यस पुस्तकले जानकारी दिने बताउनुभयो ।