काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसले १४औँ महाधिवेशनको लागि आचार संहिता जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिले आचार संहिता जारी गर्दै मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने बताएको हो ।

आफ्नो उमेदवारीको प्रचार प्रसार गर्दा भिजिटिङ कार्ड, सामान्य अपिल वितरण गर्न सकिने काङ्ग्रेसले जनाएको छ । निर्वाचन समितिले जारी गरेको आचार संहितामा कसैको पनि व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न नपाइने भनी उल्लेख गरिएको छ ।

मर्यादित, अनुशासित र संयमित भई शान्तिपूर्ण तरिकाले निर्वाचन प्रचार प्रसार गर्न पनि समितिले अनुरोध गरेको छ ।