काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन पुस १० गतेदेखि १२ गतेसम्म काठमाडौं हुँदैछ । उक्तपार्टीको आगामी नेतृत्व पनि वर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै गर्ने निश्चित प्रायः छ । विगत ३२ वर्षदेखि उक्त पार्टीको नेतृत्व गर्दै आउनु भएका अध्यक्ष प्रचण्डलाई विस्तापित गर्ने नेता माओवादी केन्द्रमा नहुँदा प्रचण्ड माओवादी केन्द्रका निर्विकल्पिक अध्यक्ष हुनुहुन्छ । माओवादी केन्द्रभित्र प्रचण्डलाई चुनौती दिने नेता अहिलेसम्म देखिएका छैनन् । त्यसैले यसपटक पनि उहाँ नै दोहोरिने निश्चित छ ।

माओवादी विभाजन भएकोले नेतृत्वका निम्ति प्रचण्डलाई हाइसञ्चो छ । प्रचण्डलाई चुनौती दिने नेता मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराईले पार्टी छाडेर अलगधारमा छन् । राष्ट्रिय सम्मेलनले प्रचण्डलाई निर्विरोध अध्यक्ष चयन गर्ने भएता पनि पार्टीको वरिष्ठ उपाध्यक्षलगायत अन्य पदाधिकारीमा प्रतिस्पर्धा हुनेछ । यद्यपि माओवादी केन्द्रको पदाधिकारीको सङ्ख्या कति हुन्छ भन्ने यकिन भइसकेको छैन ।

माओवादीबाट रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापालगायतका नेताहरु एमालेमा गएकाले प्रचण्डलाई केही हदसम्म नेताहरुलाई व्यवस्थापन गर्न सहज त होला, तर नेता नारायणकाजी श्रेष्ठ प्रचण्डका लागि टाउको दुखाइ हुने छन् । नारायणकाजी श्रेष्ठले प्रचण्डको विरुद्ध अध्यक्षमा दावी गर्ने क्षमता छैन । उनले पार्टीको वरिष्ठ उपाध्यक्षमा दावी गर्ने सम्भावना बलियो छ । किनकी यतिबेला पार्टीमा प्रचण्डपछि दोस्रो वरियतामा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ छन् ।

माओवादी केन्द्रमा पछिल्लो समय प्रचण्डले नारायणकाजी श्रेष्ठलाई कर्नरमा राखेका छन् । उनले प्रवक्ता कृष्णबहादुर महरालाई च्यापेर आगामी नेतृत्वका लागि बाटो क्लियर बनाउन खोजिरहेको राजनीतिक विश्लेषकहरुको बुझाइ छ । त्यसैले यतिबेला प्रचण्डपछिको नेता को बन्ने विषयमा पनि पार्टीभित्र बहस हुन थालेको छ । माओवादी जनयुद्धको पृष्ठभूमिबाट आएको हिसावले अध्यक्ष प्रचण्डले आफुपछि कृष्णबहादुर महरालाई ल्याउने भित्री योजनामा रहेको बुझिन्छ । माओवादी केन्द्र भित्र नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराबीच शक्ति हत्याउन होडबाजी चलिरहेको पनि छ । श्रेष्ठ यतिबेला पार्टीमा ओझेल परेका छन् भने महरा हावी हुँदै आएका छन् । युद्धकालीन समयदेखि नै प्रचण्डलाई साथ दिंदै आएका र प्रचण्डको विश्वासपात्र मानिने महरा पार्टीको लाभका पद ‘हत्याउने’ नेतामा पर्दछन् ।

प्रचण्डले आफ्नो विराशत युद्धकालिन सहयोद्धालाई नै सुम्पिन चाहन्छन् । माओवादी शान्तिप्रकृयामा आएपछि पार्टी एकता गरेर नारायणकाजी श्रेष्ठ माओवादी बनेका नेता हुन् । उनी यतिबेला प्रचण्ड पछि दोस्रो वरियतामा छन् । पार्टीमा नारायणकाजीभन्दा महराको पकड बलियो भएकाले उनी बलिया देखिन्छन् । यदि राष्ट्रिय सम्मेलनमा दोस्रो वरियतामा सहमति जुट्न नसके चुनाव समेत हुन सक्ने अवस्था छ । नारायणकाजी आफु दोस्रो वरियतामा नपरे माओवादी परित्याग गर्ने सम्भावना पनि त्यति नै छ । हिजो श्रेष्ठलाई साथ दिंदै आएका कतिपय नेताहरु अहिले प्रचण्ड निकट देखिएका छन् । नाराणकाजीमाथि अहिले पार्टी भित्र आफ्नो गुटको स्वार्थका लागि अध्यक्ष प्रचण्डसँग बार्गेनिङ गर्ने नेताका रुपमा चित्रण गर्न थालिएको छ । नारायणकाजीले आफुलाई पार्टीको दोस्रो वरियता र आफु निकटकालाई मन्त्री बनाउने खेलमा मात्रै सीमित भएको आरोप पनि लाग्ने गरेको छ ।

राष्ट्रिय सम्मेलनमा प्रचण्डका लागि मुख्य चुनौती कै नारायणकाजी देखिन्छन् । माओवादी केन्द्रको भावी नेतृत्वका लागि प्रचण्डले कृष्णबहादुुर महरालाई च्याप्नु अस्वभाविक देखिंदैन । पुषको दोस्रो साता हुने राष्ट्रिय सम्मेलनबाट नारायणकाजी श्रेष्ठलाई वरिष्ठ नेता बनाउने र महरालाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाउने चर्चा पनि छ । यस्तो अवस्थामा प्रचण्डलाई नारायणकाजी चुनौती बन्न सक्नेछन् । पछिल्लो समय अध्यक्ष प्रचण्डलाई साथ र भरोसा दिंदैं आएका लिलामणि पोखरेललाई पदाधिकारीमा लगेर नारायणकाजीलाई थामथुम पार्ने कोशिश प्रचण्डबाट हुनेछ ।