तमिलनाडुको कोयम्बटुर तथा सुलुरको बीच कुन्नुरमा भारतीय वायुसेनाका एउटा हेलिकप्टर दुर्घटना भएको छ । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको हो । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई–१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।
दुर्घटनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् । सिडिएस जनरल रावत र उहाँकी पत्नी मधुलिका एक कार्यक्रममा भाग लिएर दिल्ली फर्किने क्रममा दुर्घटना भएको बताइएको छ । वायुसेनाको एमआई १७–भी५ हेलिकप्टर नीलगिरिको जङ्गल क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनास्थलबाट तीन जनालाई बाहिर निकालिएको बताइएको छ ।

दुर्घटनाको कारणबारे सबै किसिमका अनुमान भइरहेको छ । खराब मौसम र बादलका कारण हेलिकप्टरका पाइलटले सही अनुमान गर्न नसकेर दुर्घटना भएको बताइएको छ । तामिलनाडुको सुलुरस्थित सैन्य शिविरबाट वेलिङटन जाने क्रममा हेलिकप्टर दुर्घटना भएको थियो । दुर्घटनास्थलबाट ४ जनाको शव बरामद भएको र गम्भीर घाइते ३ जनालाई अस्पताल भर्ना गरिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । तर मृतकको पहिचान भने खुलाइएको छैन ।

समाचारहरुका अनुसार सेना प्रमुख रावतलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था गम्भीर रहेको छ । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । रावतलाई गत वर्ष जनवरीमा चिफ अफ डिफेन्स स्टाफमा नियुक्त गरिएको थियो । त्यसअघि उनी भारतीय स्थल सेनाको प्रमुख थिए ।