फाइल तस्वीर ।

काठमाडौं– प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औं महाधिवेशनलाई लक्षित गरी आफ्नै निजी निवास बूढानीलकण्ठमा बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा संस्थापन पक्ष कसरी प्रस्तुत हुने र पदाधिकारी उम्मेदवारीका विषयमा विस्तृत छलफल भएको छ । सभापति देउवाले यसअघि नै आफु सभापतिमा पुनः उम्मेदवारी दिने बताइसक्नुभएको छ । संस्थापन पक्षबाट सभापतिमा अन्य कसैले पनि दावी नगरेता पनि अन्य पदाधिकारीका उम्मेदवारीका विषयमा भने छलफल भएकोे छ ।

देउवा निवास आज बसेको बैठकमा पदाधिकारीका लागि नेताहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन् । उपसभापति विजयकुमार गच्छदार पुनः उपसभापतिमा नै दाबी प्रस्तुत गरे भने नेता रमेश लेखकले सभापतिबाहेक पदाधिकारीमा दाबी रहने बताए । तर आफुले कुन पदमा दावी गर्ने भन्ने कुरा खुलाउन चाहेनन् ।


यसैगरी पार्टीको महामन्त्रीमा र सह–महामन्त्रीमा आकाङ्क्षीहरु धेरै देखिएका छन् । गृहमन्त्री बालकृष्ण खाँण, सह–महामन्त्री डा. प्रकाशशरण महत र पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा महामन्त्रीका आकांक्षी देखिएका छन् । यसैगरी सह–महामन्त्रीमा डिना उपाध्याय, अम्बिका बस्नेत, पावर्ता डिसी र खस आयबाट सहमहामन्त्रीमा किशोर सिंह राठौरले दाबी पेश गरेका छन् ।


यसैगरी दलित कोटाबाट सहमहामन्त्रीमा मानबहादुर विश्वकर्माले दावी पेशगर्दा मुस्लिम कोटाबाट सहमहामन्त्रीमा अक्तर कमाल मुसलमान र फरमुल्लाह मन्सुरले दावी गरेका थिए । गतवर्ष राप्रपाबाट काङ्ग्रेसमा प्रवेश गरेका सहमहामन्त्री बनेका सुनिल थापाले पनि सहमहामन्त्रीकै पदमा रहने इच्छा प्रकट गरेका छन् भने थारु संप्रदायबाट सहमहामन्त्रीमा रामजनम चौधरी, मधेसी संप्रदायबाट महेन्द्र यादवले सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका छन् ।


यसरी हेर्दा संस्थापन पक्षमा पनि पदाधिकारीका लागि आकाङ्क्षीहरुको जमात ठूलै देखिएको छ । संस्थापनइतरबा अहिलेसम्म क–कसले पदाधिकारीमा उम्मेदवारी दिने भन्ने निक्र्यौल हुन सकेको छैन भने नेता कृष्णप्रसाद सिटौला समूहबाट पनि खासै कसैले दावी गरेको नदेखिएपनि युवा नेता गगन थापाले महामन्त्रीमा उठ्ने सार्वजनिक गरिसकेका छन् ।


नेपाली काङ्ग्रेस पार्टीभित्र आगामी नेतृत्व र पदाधिकारी पदका लागि ठूलै रस्सा कस्सी हुने देखिएको छ । गुट उपगुटमा विभाजित काङ्ग्रेसमा महाधिवेशनबाट कसले बाजी मार्ला भनेर अनुमान लगाउने अवस्था छैन । काङ्ग्रेस पदाधिकारीमध्ये एकजना सभापति, दुईजना उपसभापति, दुईजना महामन्त्री, आठजना सह–महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानले व्यवस्था गरेको छ । पदाधिकारी बाहेक केन्द्रीय सदस्यको बारेमा अहिले खासै छलफल भएको छैन । संस्थापन र इतर समूहका बीच आगामी नेतृत्वका लागि प्यानल नै बन्ने निश्चित छ ।