फाइल तस्वीर ।

काठमाडौं– नेपाली काङ्ग्रेसको पर्सी बिहीबारदेखि काठमाडौं हुने १४ औं महाधिवेशनबा नयाँ नेतृत्वका लागि साझा उम्मेदवार तय गर्न बसेको संस्थापन इतर पक्षको बैठक निष्र्कष विहीन टुङ्गिएको छ । आजको बैठकबाट संस्थापनइतरले साझा उम्मेदवार बनाउन नसकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निराश हुनुभएको छ । संस्थापनइतर पक्षले साझा उम्मेदवार तय गर्न नसकेपछि काङ्ग्रेसको आगामी नेतृत्व पुनः शेरबहादुर देउवाको पोल्टामा जाने निश्चित प्रायः देखिन्छ ।


आज वरिष्ठ नेता पौडेलले गौशालाको अनुपम फुडल्याण्डमा आफू पक्षीय भनिएका नेताहरुसँग छलफल गर्नुभएको थियो । पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुले समेत सहमतिमा उम्मेदवार तय गर्न सुझाव दिएका छन् । काङ्ग्रेसको महाधिवेशन सुरु हुन अब दुई दिन मात्रै बाँकी छ ।


भावी नेतृत्वका लागि वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइराला संस्थापनइतरका भएपनि उहाँहरुबीच सहमति जुट्न नसक्दा त्यस समूहलाई साथ दिंदै आएका सांसदहरु, जिल्ला सभापति तथा क्षेत्रीय सभापतिहरुमा अन्योतला देखिएको छ । संस्थापनइतर समूहबाट सर्वसम्मत्त रुपमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार नबनाए डा. शशाङ्क कोराइरालाले पनि सभापतिमा उम्मेदवारी दिने सम्भावना देखिन्छ । डा. शशाङ्कले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापति उम्मेदवार प्रस्ताव गर्ने शर्तमा आफ्नो दाबी छोडेको बताइएको छ ।

संस्थापनइतर समूहले सभापतिको लागि साझा उम्मेदवार तय गर्न नसक्दा पदाधिकारी छनौटमा समेत असर परेको नेताहरुको बुझाइ छ । संस्थसमूहमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै सभापतिको उम्मेदवार बन्ने निश्चित भएता पनि देउवा समूहबाट कसकसलाई पदाधिकारीको उम्मेदवार बनाउने भन्नेमा अझै टुंगो लाग्न सकेको छैन । पर्सी २४ गते शुक्रबारदेखि सुरु हुने महाधिवेशनका लागि उम्मेदवारको टुङ्गो लगाउने विषयमा दुवै पक्षका बैठकहरु बसिरहेका छन्, तर अहिलेसम्म अन्तिम टुङ्गो लाग्न सकेको छैन । नेताद्वय प्रकाशमान सिंह र डा.शेखर कोइरालाले भने सभापतिमा आफ्नो दाबी छोडेका छैनन् ।


वरिष्ठ नेता पौडेलले आफू साझा उम्मेदवार तय गर्ने पक्षमा रहेको भन्दै प्रकाशमान र शेखरमध्ये एक हुने शर्तमा आफ्नो दाबी छोड्न सक्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले नेता कृष्णप्रसाद सिटौलालाई आफ्नो पक्षमा उभिनेगरी मनाउन सिटौला निवास पुग्नु भएको छ । यद्यपि, संस्थापनइतर समूहका सभापतिका आकांक्षीहरुले बुधबार नै छलफल गरेर टुङ्गो लगाउने बताएका छन् ।