फाइल तस्वीर ।

काठमाडौं – दुई दिनपछि काठमाडौंमा सुरु हुनलागेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा संस्थापन पक्ष र इतिर पक्षबीच सभापति र पदाधिकारीका उम्मेदवार छनोट गर्ने विषयमा छुट्टाछुट्टै भेला र छलफल भैरहेको छ । यसैक्रममा प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले आज बुधबार आफु निकट नेताहरुसँग छलफल गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा पुनः पार्टी सभापतिमा उठ्ने निश्चित प्राय छ । आफु सभापतिमा उठ्ने तयारीमा रहनु भएका देउवाले आज पदाधिकारीका विषयमा छलफल गर्न लाग्नु भएको हो । प्रधानमन्त्री देउवाले बूढानीलकण्ठस्थित आफ्नो निजी निवासमा अहिले बिहान ९ बजे आफूनिकट नेताहरूलाई बोलाएर छलफल गर्न लाग्नु भएको छ । सभापति देउवालाई नेता कृष्णप्रसाद सिटौलाको साथ रहने देखिएको छ ।

संस्थापनपक्षको अहिले हुनलागेको बैठकले पदाधिकारीसहितका उम्मेदवारको टुङ्गो लगाउने तयारी रहेको देउवा निटक एक नेताले बताएका छन् । संस्थापनइतिर सभापतिका आकाङ्क्षी धेरै भएकाले देउवालाई सभापतिका निम्ति सहज बन्दै गएता पनि आफ्ना समूहका साथै नेता सिटौला समूहलाई समेत समेटनु पर्ने भएकाले आकांक्षी धेरै हुँदा सभापति देउवालाई आफ्नो टिम तयार गर्न सकस परेको छ । उता वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा सभापतिमा साझा सहमति जुट्ने सम्भावना ज्यादै कम देखिन्छ । महामन्त्री डा। शशाङ्क कोइराला वरिष्ठ नेता पौडेललाई सहयोग गर्न तयार भएता पनि नेता प्रकाशमान सिंह र डा। शेखर कोइरालाले सभापति पदमा आफ्नो दावी प्रस्तुत गर्दै आउनु भएको छ । महामन्त्री कोइरालाको समर्थन वरिष्ठ नेता पौडेललाई रहेकाले नेताद्वय प्रकाशमान र शेखरलाई नैतिक दवाव सिर्जना भएको छ ।

संस्थापनइतर पक्षको बैठक आजपनि बस्ने भएको छ । आजको बैठकबाट सभापति र अन्य पदाधिकारीहरुको टुङ्गो लाग्ने बताइए पनि संस्थापनइतरमा निकास सकजै निस्कने अवस्था देखिंदैन । नेता प्रकाशमान सिंह कुनै पनि हालतमा आफुले सभापति पदमा उम्मेदवारी दिने अड्डी कस्दै आउनुभएको छ । महाधिवेशनमा आगामी नयाँ नेतृत्वको संस्थापन र संस्थापनइतर समूहले लागि छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा गर्ने तयारी गरिरहेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशनले पार्टीको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।