काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काङ्ग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । उहाँले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताउनुभयो । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई काङ्ग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली काङ्ग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाई समेत काङ्ग्रेस सकिन्छ भन्ने आवश्यकताको बोध गराउन सके मात्रै त्यसै विजयी बन्न सकिन बताउनुभयो ।

उहाँले नेपाली काङ्ग्रेस चुनाव जित्छौँ भनिरहँदा आम जनताले काङ्ग्रेसले किन जित्नुपर्छ भन्ने कुराको बोध गराउन आवश्यक रहेको पनि बताउनु भयो । नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काङ्ग्रेस सबल बन्ने बताउनुभयो । नेता थापाले भन्नुभयो, ‘कसले बिगार्यो काङ्ग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ काङ्ग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने काङ्ग्रेस ? काङ्ग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने काङ्ग्रेस सकिन्छ । काङ्ग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली काङ्ग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुराहरु मेरा कुराहरु भए । हामी नौलाख पार्टीका कार्यकर्ताहरु छौँ ।

हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो । नेपाली काङ्ग्रेसको अहिलेको सबैभन्दा ठूलो चुनौति भनेको हामी नौ लाख मान्छेलाई काङ्ग्रेस सुध्रियोस् भन्ने कुरा लाग्यो वा काङ्ग्रेस सकिन्छ भन्ने कुराको डर लागे जस्तै नेपाली काङ्ग्रेसलाई कहिल्यै मत नहालेको मान्छेलाई पनि काङ्ग्रेस सुध्रिनुपर्छ भन्ने लाग्ने कुराको त्यसको आवश्यकताको बोध गराउन सक्यौँ भने हामी त्यसै विजयी भयौँ । नभए भएनौँ । हामी चुनाव जित्नुपर्छ भनेर लाग्नुभन्दा एउटा नागरिकले काङ्ग्रेस किन सुध्रिनुपर्छ भन्ने कुरा थाहा पाउनु ठूलो कुरा हो ।’